पर्वतमा यस वर्ष २० टन अलैंची उत्पादन

पर्वत | माघ २०, २०७९

पर्वतमा यस वर्ष २० टन अलैंची उत्पादन

पर्वत:  पर्वतका कृषकहरुले बाँझो जमिनमा अलैंची खेती गर्न सुरु गरेका छन् । यस वर्ष पर्वतमा २० मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लाका विभिन्न वडाका कृषकहरुले लगाएको अलैंची खेतीबाट उत्पादन बढ्दै गए  पनि बजार अभावका कारण सोचे अनुसार लाभ भने लिन सकिरहेका छैनन् । 

 

कृषि ज्ञान केन्द्र पर्वत साथै जिल्लाका स्थानीय तहहरुको सहयोगमा कृषकहरुले अलैंची खेती विस्तार गरे पनि बजार अभावका कारण सोचे अनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरेका छन् । जिल्लाका माथिल्लो भागका अधिकांश वडामा परम्परागत र व्यावसायिक रुपमा अलैंची खेती गरिएको भए पनि स्थानीय तह साथै कृषि ज्ञान केन्द्रले बजारीकरणका लागि आवश्यक समन्वय नगर्दा कृषकहरु मारमा परेका छन् ।

 

स्थानीय कृषक उर्मिला केसीले प्रत्येक वर्ष अलैंची उत्पादन गर्दै आएको बताउनुभयो । तर, उत्पादन गरेको अलैंची बिक्री नहुँदा अहिले बोटमै छाड्ने गरेको भनाइ उहाँको छ । उहाँका अनुसार राम्रो मूल्य नपाइनुका साथै विगत तीन वर्षदेखि बिक्री नभएका कारण केही अलैंची बोरामा राखिएको र केही बोटमै छाडिएको छ । ‘‘पहिला पहिला बिक्रीको समस्या हुँदैन भनेर खेत बारीमा अलैंची लगाइयो अहिले बिक्री नै हुन छाडेपछि बोटमै छाडेका छौं,’’ केसीले भन्नुभयो, ‘‘गोडमेल, मलखाद, झाडी सरसफाई गर्दा लागेका खेतालालाई तिर्ने पैसा समेत आफैंले व्यहोर्नुपर्ने भएकाले बोटमै छाडेका हौं ।’’

 

प्रायजसो चिसो ठाउँ, बुट्यान र झाडीभित्र हुने खेती भएकाले चिसो ठाउँमा गएर काम गर्ने मजदुर पाउन समस्या भएको कृषकहरुको भनाइ छ । कालो सुन भनेर जिल्लाका अधिकांश वडामा राम्रो कमाइ गर्ने उद्देश्यले लगाइएको खेती समयमा बिक्री नहुँदा कृषकहरु निराश बनेका छन् ।

 

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार जिल्लाको ६० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको छ । केही ठाउँमा व्यावसायिक रुपमा सहकारी तथा कृषि फर्ममार्फत खेती गरिएको भए पनि सोचे अनुसारको प्रतिफल नहुँदा कृषकहरुले बीचैमा खेती गर्न छाडेका छन् । केन्द्रले जिल्लाका अलैंची पकेट क्षेत्रका किसानहरुले आधुनिक भट्टी निर्माण तथा प्रविधिमा सहयोग गरेर उत्पादन बढाएको भए पनि बजारीकरणमा भने खासै चासो दिएको पाइँदैन ।

 

गुणस्तरीय उत्पादन भएको ठाउँमा व्यापारीहरु खोज्दै आउने तथा केही व्यापारीलाइ भने सम्पर्क गराएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले बताउनुभयो । कृषकहरुले उत्पादन गरेपनि गुणस्तरमा ध्यान नदिँदा बिक्री गर्न भने समस्या भएको उहाँको भनाइ छ ।

 

गाउँमा बाँझिएको खेतबारीमा वर्षमा १/२ पटक मिहिनेत गरेपछि राम्रो उत्पादन हुने, बाँदर तथा अन्य जन्तुले पनि क्षती नपु-याउने पाखो बुट्यानमा पनि खेती गर्न सकिने भएपछि किसानहरुले खेती विस्तारमा चासो देखाएका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्